स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन नागरिक अभियानको माग

काठमाडौँ, ११ मङ्सिर ।‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीमा रूपान्तरण गर्न माग गरेको छ।

अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी आगामी स्थानीय तहको निर्वाचनअघि संविधान तथा कानुनमा आवश्यक संशोधन गरेर गैरदलीय निर्वाचनको व्यवस्था गर्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको हो।

स्थानीय तह राजनीतिक दलका स्थानीय अखडा बन्ने र विजयी दलका कार्यकर्ताको प्रभावमा सञ्चालन हुने गरेको आरोप लगाउँदै अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात तथा स्रोतसाधनको दुरुपयोग बढेको जनाएको छ।

कानुनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा रहेको दलीय ‘सिन्डिकेट’ अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको बताउनुभयो। स्थानीय स्रोत तथा बजेट उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा भ्युटावरलगायत अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गर्दै उहाँले गैरदलीय निर्वाचनबाट स्थानीय उत्पादन, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन गर्न सकिने धारणा राख्नुभयो।

सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन गैरदलीय स्थानीय सरकार आवश्यक रहेको बताउनुभयो। नेपाल दलित उत्पीडित केन्द्रका अध्यक्ष नन्दराज घतानीले देशको वर्तमान सङ्कट समाधानका लागि आमूल परिवर्तन आवश्यक रहेको भन्दै निर्वाचनबाट सक्षम र इमानदार व्यक्तिको छनोट हुनुपर्ने धारणा राख्नुभयो।

सामुदायिक विद्यालय अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले पछिल्लो राजनीतिक गतिविधिले स्थानीय तहमा गैरदलीय निर्वाचनको आवश्यकता थप पुष्टि गरेको बताउनुभयो। इन्जिनियर थलबहादुर तामाङले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा दलीय प्रतिस्पर्धा तथा राजनीतिक गतिविधिको प्रभावले अर्थतन्त्रमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभयो।

अभियानले पालिका प्रमुखको नेतृत्वमा समावेशी समूह गठन गरी गैरदलीय निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ। त्यस्ता समूहले पाँच वर्षे विकास योजनासहितको घोषणापत्र पेस गरी त्यसका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उसको माग छ।

स्थानीय उत्पादन, प्रविधि, नवप्रवर्तन, उत्पादनको प्रशोधन तथा बजार व्यवस्थापनलाई प्राथमिकता दिँदै स्थानीय सरकारले स्थानीय उत्पादन खरिद, ब्रान्डिङ तथा बिक्रीको व्यवस्था गर्नुपर्ने अभियानले जनाएको छ।

त्यस्तै, जनप्रतिनिधिलाई नागरिकप्रति जवाफदेही बनाउन नियमित सार्वजनिक सुनुवाइ, घोषणापत्र कार्यान्वयनको मूल्याङ्कन, नागरिक निगरानी तथा बजेट र योजनामा पारदर्शिता सुनिश्चित गर्नुपर्ने अभियानको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *