दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

काठमाडौँ, मंसिर १२ । कास्कीका दुग्ध उत्पादक किसानले उत्पादन लागत बढ्दै गएको तर लामो समयदेखि दूधको मूल्य समायोजन नभएको भन्दै किसानले पाउने दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपियाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा किसानले हाल दूधको गुणस्तरअनुसार प्रतिलिटर ६८ देखि ७१ रुपियाँसम्म मात्र पाउँदै आएको जनाउँदै उक्त मूल्यले उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको बताएका हुन् ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर तथा निजी फार्म र डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष बरालले दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रसँग समेत जोडिएको विषय भएकाले यसको मूल्य निर्धारणमा उत्पादन लागतलाई आधार बनाउनुपर्ने बताउनुभयो । पशु आहार, औषधोपचार, श्रम र ढुवानी खर्च बढ्दै जाँदा किसानले उचित मूल्य नपाए पशुपालन पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।

भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण गर्नुपर्ने उल्लेख गर्दै उहाँले किसानले प्राप्त गर्ने मूल्य कम्तीमा प्रतिलिटर ८० रुपियाँ कायम गर्न सरकारसँग माग गरिएको बताउनुभयो । उपभोक्ताको हित र बजारको अवस्थालाई समेत ध्यानमा राखेर मूल्य समायोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

किसानले दूधको मूल्य वृद्धिसँगै बिक्री गरेको दूधको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार तथा खोप सेवा प्रभावकारी बनाउन र पशु आहारमा सहुलियत दिन पनि माग गरेका छन् । त्यसैगरी उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन तथा कृत्रिम गर्भाधान सेवा निःशुल्क गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको तर यसबीचमा दाना र चोकरको मूल्य २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताउनुभयो । दाना-चोकरको मूल्य निरन्तर बढिरहेको अवस्थामा दूधको मूल्य भने स्थिर रहँदा किसानलाई पशुपालन पेसा धान्न कठिन भएको उहाँको भनाइ छ ।

त्यस्तै, माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका कृषक कृष्णप्रसाद अधिकारीले बजारमा उपभोग्य वस्तुको मूल्य बढे पनि दूधको मूल्य वृद्धिको प्रतीक्षामा किसान तीन वर्षदेखि रहेको बताउनुभयो । उपभोक्ताले बजारमा दूध खरिद गर्दा महँगो मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर रहेको जनाउँदै अधिकारीले दूधको मूल्य निर्धारण प्रक्रियामा उत्पादक किसानको लागत र समस्यालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने मूल्य पाउने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *