सप्तरीमा २०१ जना एचआइभी सङ्क्रमित उपचाररत
एचआइभी
काठमाडौँ, मंसिर १२ । सप्तरीमा २०१ जना एचआइभी सङ्क्रमित नियमित उपचारको सम्पर्कमा रहेको पाइएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन् । केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवका अनुसार सङ्क्रमितमध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समूहका छन् । केन्द्रमा उनीहरूले नियमित रूपमा उपचार तथा औषधि सेवा लिइरहेका छन् ।
उहाँका अनुसार विसं २०८१ मा १८९ जना र २०८२ मा १९५ जना एचआइभी सङ्क्रमित उपचारको सम्पर्कमा थिए । पछिल्लो तीन वर्षयता जिल्लामा उपचारको सम्पर्कमा आउने सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत अस्पतालमा सञ्चालित उपचार केन्द्रबाट १० बालबालिकालाई समेत नियमित उपचार सेवा प्रदान भइरहेको छ । उपचारको सम्पर्कमा नआएका कतिपय सङ्क्रमितसमेत हुन सक्ने भएकाले जिल्लामा वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुन सक्ने यादवले बताउनुभयो ।
उहाँका अनुसार नियमित उपचारका लागि केन्द्रमा आउन नसक्ने वा सम्पर्कमा नआउने सङ्क्रमितलाई स्वास्थ्यकर्मीले घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
अस्पतालले विसं २०५२ देखि एचआइभी सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।
