कोशीमा फेरि गठबन्धनले मिच्यो संविधान, एमालेले न्यायको ढोका ढकढक्याउने

विराटनगर, ४ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधानकै धज्जी उडाउँदै विश्वासको मत लिनु भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले संविधानकै धज्जी उडाउँदै विश्वासको मत लिनुभएको हो ।

उहाँको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत लिएको भने पनि संविधानको वर्खिलाप उहाँले गर्नुभएको छ ।

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहनु भएका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले संविधानको वर्खिलाफ गर्दै गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको थियो । उहाँले मत दिएपछि केहीबेर लफडा भएको थियो । मन्सुरीले मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी विश्वासको मत दिनुभएको थियो । अध्यक्ष मण्डलकी अर्की सदस्य गीतालाई सभामुखको आसनमा बसाई मन्सुरीली विश्वासको मत दिनुभएको हो ।

उपसभामुख सिर्जना दनुवारसहित केही ज्येष्ठ सदस्यहरू अनुपस्थित रहने भएपछि कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गर्नुभएको थियो । प्रदेशसभामा सत्तागठबन्धनको ४७ सीट छ । तर, अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र थियो । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ ।

सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहे पनि गठबन्धनले संविधान विपरीत काम गरेको छ । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि गलत काम गरेको जानकारी दिनुभएको छ । एमालेले अब कानुनी बाटो समाउने प्रतिक्रिया दिएको छ ।