सानातिना विवाद र इगो त्यागेर अघि बढ्न एमाले अध्यक्ष ओलीको निर्देशन: ‘पछारिएको ठाउँबाट फेरि उठ्छौँ’
नेता-कार्यकर्ताको व्यवहार र कार्यशैलीले नै पार्टीको छवि निर्माण गर्ने भएकाले समाजमा मर्यादित र अनुशासित उदाहरण प्रस्तुत गर्न ओलीले ताकीद गर्नुभयो।
काठमाडौँ, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा प्रतिगमन भएको दाबी गर्दै पार्टीले व्यहोरेको पछिल्लो राजनीतिक धक्काबाट निराश नभई आत्मसमीक्षा र दृढ संकल्पका साथ अघि बढ्न नेता-कार्यकर्तालाई आह्वान गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले पार्टीभित्रका सानातिना असहमति, व्यक्तिगत इगो र आन्तरिक विवादलाई त्यागेर महान् उद्देश्यका साथ अघि बढ्न निर्देशन दिनुभयो।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक स्थितिलाई समीक्षा गर्दै भन्नुभयो, “अहिले देशमा प्रतिगमन भएको छ। एकछिन धक्का लागेको छ, तर हाम्रो पार्टी महान् उद्देश्य बोकेर अगाडि बढेको छ। त्यसैले यस्ता सानातिना कुरामा नअल्झिऔँ, इगोमा नअल्झिऔँ, नचाहिने कुरामा नअल्झिऔँ, नफसौँ।”
विगतको कमजोरी महसुस र आत्मसमीक्षामा जोड
राजनीतिक उतारचढाव प्राकृतिक हुने उल्लेख गर्दै उहाँले विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो। “हामीमा रियलाइजेसन (महसुस) हुनुपर्छ। रियलाइजेसन भयो भने र हामीले संकल्प गर्यौँ भने फेरि हामी लडेको ठाउँबाट उठ्न सक्छौँ। हामीले आफूले कहाँ गल्ती गर्यौँ, कहाँ कमजोरी भयो भन्ने कुराको महसुस गर्नुपर्छ र त्यसबाट सिकेर अघि बढ्नुपर्छ,” उहाँले बताउनुभयो।
दुईतिहाइको शक्ति पुनः प्राप्त गर्ने दाबी
अध्यक्ष ओलीले एमालेले विगतमा हासिल गरेको राजनीतिक शक्ति र जनविश्वासलाई पुनः स्थापित गर्दै अझ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। एमालेका लागि पुरानो अवस्थामा फर्किनु मात्र अन्तिम लक्ष्य नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हाम्रो लागि पहिलेको अवस्थामा पुग्नु भनेको दुईतिहाइको नजिक पुग्नु हो। तर त्यतिमा नै रोकिने होइन, त्यो स्थितिलाई सदुपयोग गर्दै अगाडि बढ्ने हो। फेरि हामी उठ्छौँ, हामी लक्ष्यमा पुग्छौँ।”
आचरण शुद्ध र अनुशासित बनाउन निर्देशन
नेता-कार्यकर्ताको व्यवहार र कार्यशैलीले नै पार्टीको छवि निर्माण गर्ने भएकाले समाजमा मर्यादित र अनुशासित उदाहरण प्रस्तुत गर्न ओलीले ताकीद गर्नुभयो। “नेकपा एमालेको आचरण पवित्र हुनुपर्दछ, शुद्ध हुनुपर्दछ। बानी राम्रो हुनुपर्दछ। हाम्रो व्यवहार जनताले हेर्ने हो। त्यसैले नेता-कार्यकर्ताको आचरण राम्रो, व्यवहार शालीन र काम जिम्मेवार हुनुपर्छ,” उहाँले भन्नुभयो।
शपथग्रहण गरेका केन्द्रीय सदस्यहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन सुदृढीकरणमा लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले वर्तमान चुनौतीपूर्ण अवस्थालाई पार्टी पुनःसंगठित हुने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। एकता, अनुशासन र दृढ संकल्पका साथ अघि बढे एमाले पुनः देशको नेतृत्वदायी शक्ति बन्ने उहाँको दाबी थियो।
