महिला टी-२० क्रिकेट : फाइनलका लागि आज नेपाल र हङकङ भिड्दै
काठमाडाैं, ९ भदाै । चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाली महिला टिमले शनिबार उपाधिका लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११:४५ मा सुरु हुने खेलमा उपाधिका लागि हङकङसँग नेपाले प्रतिस्पर्धा गर्ने भएकाे हाे ।
सुरुवाती चरणको प्रतिस्पर्धा पछि नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै एकअर्का विरुद्धको उपाधि भेट पक्का गरेका हुन्।
नेपाल, मलेसिया र हङकङको समान ४ अंक भए पनि नेटरनरेटमा नेपाल शीर्ष स्थानमा रहँदा हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे। शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्ने भएकाले नेपाल र हङकङ भिड्न लागेका हुन्।
पहिलो चरणको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो। हङकङलाई हराउँदा प्लेयर अफ द म्याच बनेकी अलराउन्डर सीता रानामगरले ५ विकेट लिएकी थिइन्। तर त्यसपछिका दुई खेलमा नेपाल संघर्षरत देखियो।
ब्याटिङमा बाउन्ड्रीका लागि निरन्तर संघर्ष गर्नु परेको नेपाल आज उपाधिका लागि आफ्नो लयलाई कसरी मैदानमा प्रस्तुत गर्छ, त्यसले जितको आधार तयार गर्ने छ।
नेपाल र हङकङबीच चार महिला टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा समान दुई खेलमा जित र हार भोगेकाे थियाे । यस हिसावले पनि हङकङविरुद्ध नेपालकाे प्रतिस्पर्धा कडा हुने आँकलन गर्न सकिन्छ।
समूह ‘ए’ मा रहेको नेपालले युएई, कतार, मलेसिया, भुटान र बहराइनसँग प्रतिस्पर्धा गर्ने छ। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-२० विश्वकप खेल्न पाउने छन्।