इरानमाथि अमेरिकी हवाई आक्रमण र नौसैनिक नाकाबन्दी तीव्र, ट्रम्पद्वारा थप रणनीतिक क्षेत्रमा प्रहार गर्ने चेतावनी
एजेन्सी, ३१ असार । संयुक्त राज्य अमेरिकाले इरान विरुद्धको सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन पनि विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ। यसका साथै अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि दुई देशबीचको तनाव युद्धको सङ्घारमा पुगेको छ। इरानी पक्षले अमेरिकी नाकाबन्दीसँगै शान्ति र युद्धविरामका लागि भएका कूटनीतिक प्रयासहरू समाप्त भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान तत्काल वार्तामा नआए अर्को सातादेखि त्यहाँका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई समेत निशाना बनाइने चेतावनी दिएका छन्। अमेरिकी सञ्चारमाध्यम ‘फक्स न्युज’ सँग कुरा गर्दै उनले इरान वार्ताका लागि सहमत नभएसम्म ऊर्जा पूर्वाधार निष्क्रिय बनाउने अभियान जारी रहने स्पष्ट पारे।
यद्यपि, राष्ट्रपति ट्रम्पले हर्मुज जलसन्धि (स्ट्रेट अफ होर्मुज) हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि लगाउने प्रस्ताव गरिएको २० प्रतिशत अतिरिक्त शुल्क भने फिर्ता लिएका छन्। त्यसको सट्टा खाडीका साझेदार राष्ट्रहरूसँग नयाँ लगानी सम्झौता गरी अमेरिकी अर्थतन्त्रमा लगानी भित्र्याइने उनले बताए।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले पछिल्लो आक्रमणको मुख्य उद्देश्य हर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि निरन्तर आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई ध्वस्त पार्नु रहेको बताए। सेन्टकमका अनुसार गत साता मात्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा कम्तीमा एक दर्जन चालकदलका सदस्यको मृत्यु वा घाइते भएका थिए।
इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, हर्मुज नजिकैको केशम टापु, बुसेहर प्रान्तका विभिन्न सैन्य इलाका र इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र आसपास ठुला विस्फोटहरू भएको पुष्टि गरेका छन्।
इरानी समाचार एजेन्सी ‘इरना’ का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी लडाकु विमान रहेको सैन्य अखडा र बहराइनमा रहेका अमेरिकी सैन्य तथा आवासीय संरचनाहरूलाई लक्षित गरी मिसाइल एवं ड्रोन आक्रमण गरेको छ। इरानी प्रहारबाट कुवेतको एक नौसैनिक जहाजमा क्षति पुग्दा ४ सैनिक घाइते भएका छन्। इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नाकाबन्दीले द्वन्द्व रोक्न यसअघि इस्लामाबादमा भएको कूटनीतिक सम्झौतालाई पूर्ण रूपमा निष्प्रभावी बनाएको आरोप लगाए।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार गत सातादेखि सुरु भएको अमेरिकी हवाई आक्रमणमा परी इरानमा हालसम्म कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ। तनाव क्षेत्रीय रूपमा विस्तार हुँदै जाँदा बहराइन र जोर्डनले आफ्नो आकाशमा इरानी क्षेप्यास्त्र तथा ड्रोनहरू निष्क्रिय पारेको दाबी गरेका छन्।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि कुनै पनि आक्रमण गरे निर्णायक र कडा प्रतिशोध लिइने चेतावनी दिएका छन्।