नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाएपनि निषेधाज्ञा भने जारी रहने

नेपालगञ्ज, १८ असाेज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तीन दिनदेखि लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको हाे ।

कार्यालयका अनुसार आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ । आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।