मधेसका विभिन्न जिल्लामा ३०० भन्दा बढी घर डुबानमा, एक जनाको मृत्यु

जनकपुरधाम, ११ असोज । अविरल वर्षापछि मधेस प्रदेशका विभिन्न जिल्लामा ३०० भन्दा बढी घर डुबानमा परेका छन्। पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने निजी घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार धनुषाको मिथिला नगरपालिका–११ अपागाछीकी ३५ वर्षीया कमला श्रेष्ठको पहिरोमा पुरिएर मृत्यु भएको हो।

लगातारको वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न स्थानमा बाढी तथा डुबानको समस्या देखिएको प्रहरीले जनाएको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका तथा सीमावर्ती क्षेत्रमा मात्रै करिब २५० घर डुबानमा परेका छन्।

यस्तै, हनुमाननगर कङ्कालिनी नगरपालिका–७, ११ र १२ मा कोशी बाँधको दक्षिणतर्फका करिब २०० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालले जानकारी दिनुभयो।

वर्षा र डुबानका कारण प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *