सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने
भक्तपुर, ११ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीय सरकारले अनुरोध गरेमा सूर्यविनायक क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माणको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ।
विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नागरिक समाजले आयोजना गरेको ‘भक्तपुरमा पर्यटनको सम्भावना र अवसर’ कार्यक्रममा मुख्यमन्त्री थापामगरले राष्ट्रिय प्राणी उद्यान निर्माण गरेर सूर्यविनायकलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो।
उहाँले संघीय सरकारबाट आवश्यक प्रस्ताव आएमा प्रदेश सरकारले उद्यान निर्माणका लागि पहल गर्ने धारणा राख्नुभयो।
तत्कालीन सरकारले सूर्यविनायकस्थित वन क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने उद्देश्यसहित २०७३ सालमा उद्यान निर्माणको शिलान्यास गरेको थियो।
वन तथा भूसंरक्षण मन्त्रालयले सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिका क्षेत्रका वन समेटेर राष्ट्रिय प्राणी उद्यान विकासको काम अघि बढाएको थियो।
प्रस्तावित राष्ट्रिय प्राणी उद्यानमा सातवटा सामुदायिक तथा राष्ट्रिय वनको केही भागसहित कुल २४५.१६५ हेक्टर वन क्षेत्र समेटिएको छ।
