वायुसेवा निगमका क्याप्टेन शाहविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा मुद्दा दर्ता
काठमाडाैं, १९ पुस । नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा शाहविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनी २०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा जुनियर क्याप्टेनको रूपमा नियुक्त भएका थिए। पछि उनी आठौं तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भएर निगममा कार्यरत थिए।
शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी अख्तियारमा परेको थियो।
शाहले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि.एस.जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए।
अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको प्रवक्ता घिमिरेले बताए। झुटा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दायर गरेको हो।