सुन छानबिन समितिले सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग गर्याे सोधपुछ

काठमाडौं, १७ माघ । ६१ किलो सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा बज्राचार्यले ‘त्यो विषयमा’ आफूलाई थाहा नभएको जवाफ दिएको समितिका एक अधिकारीले बताए ।
समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ । ‘भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो’, समितिका एक सदस्यले भने, ‘पछिल्लो सुन प्रकरणबारे पनि कुरा भएको छ ।’

सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।