सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने प्रतिपक्षीको अडान
काठमाडौँ, १४ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले मुलुकको सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा दिनुभएको विवादास्पद अभिव्यक्तिबारे सदनमै उपस्थित भएर पुनः स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरूलाई आफ्ना धारणा राख्न समय दिनुभएको थियो।
बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले प्रधानमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्ने राष्ट्रिय सरोकारका गम्भीर विषयहरूलाई बेवास्ता गरी पार्टीको महाधिवेशनमा प्रस्तुत गर्ने गरेको भन्दै यसले जननिर्वाचित संसद्को गरिमा घटाएको आरोप लगाउनुभयो।
नेकपा (एमाले) का सांसद डा. पुष्पराज कँडेलले राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्नेमा जोड दिँदै कूटनीतिक आँच पुग्ने गरी दिइएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने बताउनुभयो। उहाँले एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही र राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको आरोप लगाउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनेतर्फ राज्यका संयन्त्रहरू केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशसभा खारेज गरी संघीयताको पुनर्संरचना गर्ने सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक प्रस्तावप्रति संसद्मै असहमति प्रकट गर्नुभयो।
यसैगरी, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयहरूमा प्रधानमन्त्रीले संसद्लाई उपेक्षा नगरी रोष्टममै आएर जवाफ दिनुपर्ने माग गर्नुभयो।