प्रथम उपमेयर कप खो खो प्रतियोगिता सम्पन्न : छात्रतर्फ शान्ति निकुञ्ज र छात्रातर्फ कन्या मन्दिर विजयी
काठमाडौँ, असार १४ । काठमाडौँ महानगरपालिकाको सहयोगमा आयोजित ‘प्रथम उपमेयर कप अन्तर विद्यालय खो खो प्रतियोगिता’ मा छात्रतर्फ शान्ति निकुञ्ज माध्यमिक विद्यालय र छात्रातर्फ कन्या मन्दिर माध्यमिक विद्यालयले उपाधि हासिल गरेका छन् । कीर्तिपुरस्थित कभर्डहलमा असार ११ गतेदेखि सञ्चालित उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
प्रतियोगिताको छात्रतर्फ विश्व निकेतन मा.वि. ले दोस्रो र भीमसेनगोला मा.वि. ले तेस्रो स्थान प्राप्त गरे । त्यसैगरी, छात्रातर्फ पद्मकन्या मा.वि. द्वितीय र भीमसेनगोला मा.वि. तृतीय हुन सफल भए ।
काठमाडौँ महानगरपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा नेपाल खो खो संघद्वारा आयोजित यस सामुदायिक विद्यालय स्तरीय प्रतियोगिताका विजेताहरूलाई महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ ‘बेस्ट रनर’ मा छात्रतर्फ विश्व निकेतनका सूर्य लामिछाने र छात्रातर्फ पद्मकन्याकी प्रमिला हस्दा पुरस्कृत हुनुभयो । यस्तै, ‘बेस्ट चेजर’ तर्फ छात्रमा शान्ति निकुञ्जका समीर रौनियार र छात्रामा कन्या मन्दिरकी रोजिना तामाङ विजेता बन्नुभयो । व्यक्तिगत विधाका विजेताहरूलाई जनही १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले बालबालिकाको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकासका लागि महानगरपालिकाले शिक्षा र खेलकुदमा लगानी वृद्धि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पढाइमा विभिन्न विषय भएजस्तै खेलका पनि विभिन्न विधा हुन्छन् । विद्यार्थीको रुचि अनुसारका खेल विकास गर्दा त्यसले बालसुलभ शिक्षण सिकाइमा समेत ठूलो मद्दत पुग्नेछ ।”
लिग-कम-नाकआउटका आधारमा सञ्चालित यस प्रतियोगितामा छात्रातर्फ १० र छात्रतर्फ ८ गरी कुल १८ विद्यालयका २१६ खेलाडीहरूको सहभागिता थियो । प्रतियोगिता अवधिभर खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रतिखेलाडी १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा समेत गरिएको आयोजकले जनाएको छ । ३० जना निर्णायक मण्डलद्वारा सञ्चालित यस खेलमा प्रशिक्षक र व्यवस्थापकसहित जम्मा २५२ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।
प्रतियोगितामा महानगरभित्रका शान्ति निकुञ्ज, महांकाल, भीमसेनगोला, पद्मकन्या, जनप्रभात, सहिद शुक्र, विश्व निकेतन, सर्वेश्वर, बाँसबारी र कन्या मन्दिर माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।