इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने
इलाम, १६ वैशाख । इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताउनुभयाे।
प्रमुख जिल्ला अधिकारी यादवले निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको पनि बताउनुभयाे । शनिबार सबै मतपेटिका केन्द्रमा नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।
मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना गौतम बुद्ध सभागृह (सिटी हलमा हुनेछ ।
इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।