सन्दीपको मुद्दाकाे सुनवाइ आज, पहिलो नम्बरमै पालो
काठमाडौं, १ जेठ । बलात्कार अभियोगमा दोषी ठहर गरिएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज उच्च अदालत पाटनमा आज सुनवाइ हुँदैछ ।
लामिछानेको मुद्दाकाे पालाे एक नम्बरमै परेकाे छ । पहिलाे नम्बरमै पालो भएकाले ‘हेर्न नभ्याइने’ मा पर्ने सम्भावना छैन । तर, न्यायाधीसले अरु कुनै बहानामा सुनवाइ टार्न सक्ने आशंकामा सन्दीपका वकिलहरु छन् । गौशाला २६ का कानून व्यवसायी पनि सुनवाइ टार्न खोजिरहेको उनीहरुको दावी छ ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।
न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।
दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ । उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।
यदि आज सुनवाइ सुरु भएर सन्दीपको पक्षमा फैसला आयो भने उनी टि २० विश्वकप खेल्ने बाटो खुल्न सक्छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले समयमै फैसला आएर सन्दीप निर्दोष ठहरिए विश्वकपमा लैजाने बताइरहेका छन् ।
जिल्ला अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । सो पुनरावेदनमा यसअघि ४ पटक पेसी तोकिएको भए पनि विभिन्न बहानामा सुनवाइ स्थगित भइरहेको छ ।
आज सुनवाइ सुरु भएमा आजै फैसला हुन पनि सक्छ । यदि बहस लम्बियो भने न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेर भोलि फेरि बहस सुचारु गर्नेछन् । जसले सुनवाइ सुरु गर्यो त्यही न्यायाधीसले फैसला गर्नुपर्ने हुन्छ ।