सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता भएकाे पुष्टि

काठमाडौं, ३१ भदाै । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै जिम्मेवार देखाइएको छ ।

गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।

गोर्खा नेटवर्क प्रालिमार्फत भएको अपचलनमा लामिछानेको संलग्नता देखिएकाले उनलाई कानूनसम्मत कारबाही गर्न लेखि पठाउने सहमति भएको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयाे । दुई महिना लगाएर प्रतिवेदन लेखेको समितिले जम्मा दुई हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

यता समितिका सदस्य शिशिर खनालले लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन् । सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो बताएका हुन् ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे । सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको नदेखिएको भन्दै उनले यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने तयारी रहेको बताए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची नै संसद सचिलायलले निकालेको छ ।