‘फ्री भिसा फ्री टिकट’मा ठगी: ३ लाख असुल्न खोज्ने म्यानपावरका कर्मचारी रङ्गेहात पक्राउ

काठमाडौँ, ३ जेठ । वैदेशिक रोजगारीका लागि ‘फ्री भिसा फ्री टिकट’को सरकारी नीति उल्लङ्घन गर्दै युवाहरूसँग लाखौँ रुपैयाँ असुल्न खोज्ने एक म्यानपावरका कर्मचारी पक्राउ परेका छन्।

मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग ३ लाख रुपैयाँ माग गर्ने कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ म्यानपावरका कर्मचारीलाई शनिबार तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

मलेसियामा सेक्युरिटी गार्डको काममा जान लागेका यादवको उडान गत वैशाख २९ गते नै हुनुपर्ने थियो। सरकारले तोकेको १० हजार रुपैयाँ सेवा शुल्कको सट्टा उनले ७० हजार रुपैयाँ म्यानपावरलाई बुझाइसकेका थिए। तर, म्यानपावरले ‘३ लाख नबुझाए उड्न नदिने’ अडान राखेपछि उनी समस्यामा परेका थिए। रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसके पनि म्यानपावरले पैसाका लागि यादवलाई बन्धक बनाएको थियो।

पीडित यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा आफू ठगिएको उजुरी गरेपछि मन्त्रालयले विशेष चासो देखाएको थियो। मन्त्रीका स्वकीय उपसचिव सरोज यादव, प्रहरी र सञ्चारकर्मीको टोलीले तीनकुनेस्थित गैरीगाउँमा जाल बिछ्याएर ती कर्मचारीलाई रङ्गेहात नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कर्मचारीले सुरुमा पैसा लिएर मात्र राहदानी (पासपोर्ट) र टिकट दिने सर्त राखेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि उनले १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकार गरेका छन्। उनको साथबाट यादवसहित चार जनाको पासपोर्ट र हवाई टिकट बरामद गरिएको छ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीका नाममा ठगिएमा वा कसैले बढी रकम मागेमा सिधै मन्त्रालयमा सम्पर्क गर्न वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अपिल गरेको छ।
मन्त्रालयले ‘फ्री भिसा फ्री टिकट’को नियम मिच्ने म्यानपावर कम्पनीहरूको इजाजतपत्र रद्द गर्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *