सर्लाहीमा गोली प्रहार गरी महिलाकाे हत्या, एक पुरूष घाइते

काठमाडौं,१० असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली प्रहार गरी एक महिलाको हत्या गरिएकाे छ भने अर्का एक जना घाइते छन् ।

आज बिहान गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चित्रलेखाका श्रीमान् र एकजना अपरिचित गएराति एक्कासी मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा अरू अपरिचित हुन भन्ने तथ्य पक्राउ नपरिसकेकाले सार्वजनिक गरिएको छैन । तर प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ ।