डोलेश्वरमा महाशिवरात्रीमा ६० हजार भक्तजनले गरे दर्शन, आज साधुसन्तको बिदाई

भक्तपुर, १५ फागुन । महाशिवरात्रि पर्वको अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकै दिन ६० हजार भन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरका चारै ढोका खोलेर भक्तजनलाई महादेवको शिलामै पूजा गर्ने व्यवस्था मिलाइएको थियो।

महासचिव बस्नेतले नेपाली र भारतीय पर्यटक गरी ६० हजारभन्दा बढीले डोलेश्वरमा पूजा तथा दर्शन गरेको जानकारी दिए। भक्तजनका लागि पूजा सामग्रीसहित पञ्चस्नानको व्यवस्था पनि गरिएको थियो, जसको लागि शुल्क रु १ हजार १०० तोकिएको थियो।

मन्दिर परिसरमा रातभर धुनी बालिएको थियो भने मध्यरातिदेखि विशेष पूजा गरिएको थियो। बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको छ। यस वर्ष डोलेश्वर आउने साधुसन्तलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, धोती र कम्बल दिएर बिहान ११ बजे भोजन गराई बिदा गरिने कार्यक्रम रहेको छ।

यसैगरी, बुधबार आशापुरीमा २५ हजारभन्दा बढी, साँगाको कैलाशनाथ महादेवमा करिब १४ हजार भक्तजनले दर्शन तथा पूजा गरेका थिए। सूर्यविनायक-१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिर, नंखेलको नन्दिकेश्वर महादेश मन्दिर, चाँगुनारायणस्थित मच्छेनारायण मन्दिरको महादेव मन्दिर र मध्यपुरथिमि राधेराधे सङ्गम कोलोनीको सङ्गमेश्वर महादेवमा पनि दिनभर भक्तजनको भीड लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *