बाढीपहिरोले भत्काएको बिपी राजमार्गको मर्मत तीव्र गतिमा, यात्रा सहज बनाउने प्रयास हुँदै
काठमाडाैं, २० फागुन । गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको मर्मत कार्यलाई तीव्र पारिएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको सडक मर्मतलाई तीव्रता दिएको हो।
कार्यालयले आउँदो बर्खायाममा यातायात अवरुद्ध हुन नदिने गरी सडक मर्मत गरिरहेको जनाएको छ। लोडर र डोजरको प्रयोग गरी सडक मर्मत भइरहेको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने र अप्ठेरो स्थानमा जाली भरेर उचाइ बनाउने काम भइरहेको छ। क्षतिग्रस्त सडकलाई चौडा पार्ने, सम्याउने र खोलाको सतहभन्दा करिब तीन मिटर उचाइमा पुर्याउने लक्ष्य छ। कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा ८ किलोमिटर मर्मत गरिनेछ।
राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्डको अस्थायी मर्मतका लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत अनुमान निकालेर ठेक्का प्रक्रिया सुरु हुनेछ। हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।
डिभिजन सडक कार्यालयले गरेको अध्ययन अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान छ। पुनर्निर्मित सडकमा दुई लेनको ‘आसफाल्ट कङ्क्रिट’ प्रयोग गरिनेछ। यसअघि उक्त सडक ‘इन्टरमिडियट लेन’को थियो।