काठमाडौँकाे स्यूचाटारमा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ, ३ चैत । काठमाडौँ महानगरपालिका-१६, बालाजुस्थित एक फर्निचर कारखानामा आज बिहान आगलागी भएको छ। आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम कोइरालाका अनुसार बिहान करिब ५ बजेतिर कारखानाबाट धुवाँ देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
“तत्कालै प्रहरी र दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास गर्‍यो। करिब दुई घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो,” प्रवक्ता कोइरालाले जानकारी दिनुभयो।

काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीको कारण खुल्न सकेको छैन, तर विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट फर्निचर बनाउने कच्चा पदार्थ, मेसिनरी औजार, र तयार भएका फर्निचरहरू जलेर नष्ट भएका छन्।

महानगरीय प्रहरी वृत्त, बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।