अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय र क्याम्पसहरूमा चैत ८ गते

काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालयका आंगिक र सामुदायिक क्याम्पसहरूमा आज स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालय क्याम्पसहरूमा भने यो निर्वाचन चैत्र ८ गते हुनेछ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछ, जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिक प्रणालीबाट छानिनेछन्। यहाँ ६ हजार १ सय ४६ मतदाता रहेका छन्।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचन हुनेछ। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि उनीहरूमध्येबाट चयन गरिनेछ। यदि कुनै संगठनको बहुमत आएमा उपाध्यक्ष र उपसचिव उसैको सदस्यबाट चयन हुनेछन्। बहुमत नआएमा सहमतिबाट चयन हुनसक्ने व्यवस्था छ। सहमति नभएको खण्डमा २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिनेछ। विश्वविद्यालय क्याम्पसमा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ, जसका लागि २० वटा मेसिन प्रयोग गरिनेछ।

यसैबीच, रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै तालाबन्दी गरेको छ र निष्पक्ष छानबिनको माग गरेको छ। सुरक्षा कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। क्याम्पस प्रमुखका अनुसार सोमबारको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको हो। राष्ट्रिय मानव अधिकार आयोगले आजको स्ववियु निर्वाचनको अनुगमन गर्ने भएको छ।