नेप्से परिसूचक ३० अङ्कले घट्दा ऋणपत्रको कारोबारले टर्नओभर ७ अर्ब ४६ करोड नाघ्यो
काठमाडौँ, २९ असार । धितोपत्र बजारमा बिक्री चाप बढ्दा साताको पहिलो कारोबार दिन सोमबार परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो साताका अन्तिम तीन कारोबार दिनदेखि सुरु भएको ओरालो यात्राले आज पनि निरन्तरता पाएको हो। परिसूचक ३०.६० अङ्कले घटे पनि बजारमा ऋणपत्रको भारी कारोबारका कारण टर्नओभरमा भने उल्लेख्य सुधार देखिएको छ।
आज नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर २५७०.१८ विन्दुमा झरेको छ। परिसूचकसँगै बजारका अन्य प्रमुख सूचकहरू पनि राताम्मे देखिएका छन् । यसदिन सेन्सेटिभ इण्डेक्स: ३.०४ अङ्कले घट्दा फ्लोट इण्डेक्स: १.९५ अङ्कले नकारात्मक रह्यो भने सेन्सेटिभ फ्लोट इण्डेक्स: १.१७ अङ्कले ओरालो लाग्यो।
यसले बजारका ‘ब्लु चिप’ र ठुला कम्पनीहरूको सेयरमा लगानीकर्ताको मनोबल कमजोर रहेको सङ्केत गर्दछ। परिसूचक घटे पनि कारोबार रकममा भने ‘सरप्राइज’ देखिएको छ। गत शुक्रबार ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ३६८ कम्पनीको ४ करोड १७ लाख २५ हजार कित्ता सेयर रु ७ अर्ब ४६ करोड ८४ लाख १६ हजारमा किनबेच भएको छ।
आजको उच्च टर्नओभरमा सेयरभन्दा ऋणपत्रको कारोबारले मुख्य भूमिका खेलेको छ। सर्वाधिक कारोबार हुने शीर्ष तीनवटै ऋणपत्र
एनएमबि डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८: ४८ करोड ४६ लाखको कारोबार, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६: ४६ करोड ६५ लाखको कारोबार र एभरेष्ट बैंक लिमिटेडकाे डिबेञ्चर २०९१: ३७ करोडभन्दा बढीको कारोबार भएकाे छ।
आजको बजारमा उल्लेख्य वृद्धि दर कतै पनि देखिएन। सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ५.३७ प्रतिशत मुनाफा कमाएका छन्। अर्कोतर्फ, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ११.२८ प्रतिशतको ठुलो गिरावट आएको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूह सर्वाधिक २.३० प्रतिशतले ओरालो लागेको छ। यस्तै, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसमूहहरू १ प्रतिशतभन्दा बढीले घटेका छन्।