सिंहदरबारको दक्षिण गेटमा निहारिका र बिनुको धर्ना: गृहमन्त्रीसँगको भेट अस्वीकार भएपछि सडकबाटै विरोध
काठमाडौँ, २९ असार । न्यायका लागि लामो समयदेखि सङ्घर्षरत निहारिका राजपुत र बिनु यादवले सोमबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन्। गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि उनीहरू सडक किनारमै बसेर विरोध प्रदर्शनमा उत्रिएका हुन्।
आफ्ना मागहरू राख्न गृहमन्त्रीको कार्यकक्षतर्फ जान खोजेका उनीहरूलाई गेटमा खटिएका सुरक्षाकर्मीले अनुमति विना प्रवेश गर्न नमिल्ने भन्दै रोकेका थिए। त्यसपछि उनीहरू गेटकै अग्रभागमा सडकमा बसेर नाराबाजीमा उत्रिएका थिए। निषेधित क्षेत्रमा धर्ना दिएपछि प्रहरीले उनीहरूलाई गेट अगाडिबाट हटाएर केही पर राखेको छ। “हामीलाई भित्र जान दिइएको छैन, राज्यले हामीलाई अपराधी जस्तो व्यवहार गरिरहेको छ,” धर्नाका क्रममा निहारिका राजपुतले सञ्चारकर्मीहरूसँग भनिन्।
शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेको भन्दै लामो समयदेखि कानुनी र सडक सङ्घर्ष गरिरहेकी निहारिकाको मुद्दाले विगतमा राष्ट्रिय चर्चा पाएको थियो। १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा निहारिका र शिवराजबीच मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो। यद्यपि, उक्त मिलापत्र र न्यायको पछिल्लो अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले पुनः दबाबमूलक कार्यक्रम सुरु गरेका हुन्।
सिंहदरबारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले उनीहरूलाई निषेधित क्षेत्रबाट हटाउने प्रयास गरिरहेको छ। बिनु यादवले पनि राज्य संयन्त्रले पीडितका कुरा सुन्नुको सट्टा दमन गर्न खोजेको आरोप लगाएकी छिन्।