सरकारलाई बदनाम गर्नेहरू सक्रिय भए, तर हामी विचलित हुँदैनौं: प्रधानमन्त्री ओली
काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पमा अवरोध पुर्याउने काम भइरहेको बताउनुभएकाे छ ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उहाँले सरकारलाई बदनाम गर्ने र झुट फैलाउनेहरू सक्रिय भइरहेको बताउनुभयाे । उहाँले यस्ता विषयमा सरकार अल्झिएर नबस्ने पनि बताउनुभयाे ।
डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार केन्द्रित रहेको उहाँकाे भनाइ छ।
“सरकार र आफू बाहेक अरुलाई कसरी बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, कसरी झुट फैलाउन सकिन्छ भनेर धेरै नै सक्रिय देखिन्छन्,” उहाँले भन्नुभयाे, “म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्न। हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौं। अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन्। हामी आफ्ना विषयमा केन्द्रित हुन्छौं।”