धवलागिरिमा मानव पाइलाको ६६ वर्ष : ७ सयभन्दा बढीले गरे आरोहण, मुदीमै पहिलोपटक दिवस
म्याग्दी, ३० वैशाख । संसारको सातौँ अग्लो हिमशिखर धवलागिरिमा पहिलोपटक मानव पाइला परेको ६६ वर्ष पूरा भएको छ ।
सन् १९६० मे १३ तारिखका दिन अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे पहिलोपटक सँगै धवलागिरिको चुचुरोमा पुगेका थिए । पर्यटन विभागको अभिलेखअनुसार यो ६६ वर्षको अवधिमा सात सय जनाभन्दा बढी आरोहीले धवलागिरिको सफल आरोहण गरिसकेका छन् ।
८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको भूगोलमा पर्छ । यसवर्ष पहिलोपटक हिमाल अवस्थित मुदी गाउँमै मङ्गलबारदेखि ‘आरोहण दिवस’ मनाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
“पहुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवसहरू पोखरा र काठमाडौँमा मनाउने गरिन्थ्यो,” उनले भने, “धवलागिरि हिमाल म्याग्दीमै पर्छ भन्ने सन्देश प्रवाह गर्न र यसको पहिचान बढाउन पहिलोपटक सम्बन्धित स्थानमै आरोहण दिवस आयोजना गरिएको हो ।”
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले मुदीमा यो दिवस आयोजना गरेको हो ।
दिवसका अवसरमा गण्डकी प्रदेशकी पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल, म्याग्दी १(१) का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यलगायतका अतिथिहरूलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीका अनुसार अतिथिहरू गाउँपालिकाको केन्द्र मुनासम्म गाडीमा र त्यहाँबाट पदयात्रा गर्दै मुदी पुगेका थिए । आफ्नै भूगोलमा आरोहण दिवस मनाउन पाउँदा मुदीवासी हर्षित बनेको उनले बताए ।
आरोहण दिवसका अवसरमा बुधबार मुदीमा धवलागिरि आरोहीहरूलाई सम्मान र अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष आचार्यले जानकारी दिए । “धवलागिरिको हावापानी र भूबनोट अनौठो किसिमको छ । आधा–आधा घण्टामा मौसम बदलिइरहने भएकाले पर्वतारोहण क्षेत्रमा यसको आरोहणलाई निकै जोखिमपूर्ण र साहसिक मानिन्छ,” उनले भने ।
यो सिजन ३० जनालाई अनुमति
धवलागिरि आरोहणबाट यस सिजन (वसन्त ऋतु) मा सरकारले १ करोड ३४ लाख ५४ हजार ५५० रुपैयाँ सलामी दस्तुर (रोयल्टी) सङ्कलन गरेको छ । पर्यटन विभागकी निर्देशक निशा थापा राउतका अनुसार यस सिजनका लागि ४ वटा समूहका १८ पुरुष र १२ महिला गरी कुल ३० जनाले आरोहण अनुमति लिएका छन् । अघिल्लो सिजनमा ३६ जनाले अनुमति लिएका थिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमालको पर्यटकीय सम्भावनालाई अपेक्षित रूपमा उपयोग गर्न नसकिएको बताए । “हिमालसँग जोडिएका गाउँहरूको पर्यटन प्रवर्द्धन होस् भन्ने उद्देश्यले ६६औँ धवलागिरि दिवस मुदीमै मनाउन लागिएको हो,” उनले भने, “अब आरोहणसँगै धवलागिरि चक्रीय पदमार्गको पदयात्रामा पनि पर्यटकको आकर्षण बढाउनुपर्छ ।”