क्रिस्टल प्यालेसलाई पहिलो पटक एफए कप
लन्डन, जेठ ४ गते । क्रिस्टल प्यालेसले बलियो म्यान्चेस्टर सिटीलाई १–० ले हराएर एफए कपको उपाधि जितेको छ । क्रिस्टल प्यालेस पहिलो पटक विश्वकै सबभन्दा पुरानो नकआउट फुटबल प्रतियोगिता एफए कप च्याम्पियन बनेको हो ।
८४ हजार दर्शकको उपस्थिति रहेको वेम्बले रङगशालामा शनिबार राति इबरेची इजीको गोलले क्रिस्टल प्यालेसलाई पहिलो प्रमुख उपाधि दिलायो । खेलको १६ औँ मिनेटमा प्रत्याक्रमणमा डेनियल मुनोजको क्रसमा इजीले गोल गरेका हुन् ।
पूर्वार्धमा ओमान मारमाउसले पेनाल्टीमा गोल गर्न सकेको भए नतिजा फरक हुनसक्थ्यो । तर उनको प्रहारलाई क्रिस्टल प्यालेसका गोलरक्षक डिन हेन्डसनले जोगाए । म्यान्चेस्टर सिटीले ७७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पनि गोल गर्न सकेन । यस क्रममा सिटीले क्रिस्टल प्यालेसको गोलपोस्टमा २३ पटक प्रहार गरेको थियो ।
यस नतिजासँगै पछिल्ला केही वर्ष इङगलिस फुटबलमा अधिपत्य कायम गरेको म्यान्चेस्टर सिटी यस सत्रमा उपाधिविहिन हुने भएको छ । पछिल्ला आठ वर्षका सिटी पहिलो पटक उपाधिविहिन भएको हो । म्यान्चेस्टर सिटीले एफए कपको फाइनलमा हार वेहोरेको यो लगातार दोस्रो पटक हो । गत वर्ष म्यान्चेस्टर सिटीलाई नै हराएर म्यान्चेस्टर युनाइटेड एफए कप च्याम्पियन बनेको थियो ।
क्रिस्टल प्यालसेको फाइनल जितलाई एफए कप इतिहासकै स्तब्धकारी नतिजामध्ये एक मानिएको छ । यसअघि, सन् १९८८ मा विम्बल्डनको लिभरपुलविरुद्धको जित र सन् २०१३ मा विगनको म्यान्चेस्टर सिटीविरुद्ध नै जितलाई पनि एफए कप फाइनलमा स्तब्धकारी नतिजा थिए । एजेन्सी