सम्यक महादानको स्मरणमा गुरु पूर्णिमाका दिन पञ्चदान र दीपङ्कर बुद्धको शोभायात्रा हुने
काठमाडौँ, साउन ९ । विगत २४ वर्षदेखि हुन नसकेको ‘सम्यक महादान’को स्मरण गराउने उद्देश्यले आगामी साउन १३ गते गुरु पूर्णिमाका दिन काठमाडौँमा दीपङ्कर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २७ स्थित महाबुद्ध महाविहार प्राङ्गणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
प्रत्येक १२ वर्षमा आयोजना हुनुपर्ने सम्यक महादान पछिल्लो पटक वि.सं. २०६० सालमा स्वयम्भूमा भएको थियो । त्यसयता रोकिएको सो ऐतिहासिक परम्पराको महत्त्वलाई पुनः उजागर गर्न यसपटक विशेष कार्यक्रमको तयारी गरिएको हो ।
कार्यक्रमको व्यवस्थापनका लागि आयोजित तयारी बैठकमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले सहभागिता जनाउँदै यस सांस्कृतिक कार्यमा महानगरको पूर्ण सहयोग र प्रतिबद्धता रहने बताउनुभयो ।
महाबुद्ध महाविहारका महास्थविर संघरत्न शाक्यका अनुसार सो दिन काठमाडौँका विभिन्न महाविहार तथा बहालहरूबाट ८५ जना शाक्य स्थवीर, थायपा, दीपङ्कर बुद्धहरू र जीवित देवताका रूपमा पुजिने श्रीगणेश र श्रीभैरवलाई विराजमान गराई पञ्चदान अर्पण गरिनेछ ।
कार्यक्रमको तालिका
सार्वजनिक गरिएको कार्यतालिका अनुसार साउन १३ गते बिहान ७ बजे दीपङ्कर बुद्धहरूको आसन ग्रहणबाट कार्यक्रम सुरु हुनेछ । बिहान ९ देखि ११ बजेसम्म पञ्चदान प्रदान गरिनेछ भने अपराह्न १२:३० बजेबाट शोभायात्रा सुरु हुनेछ । दीपङ्कर बुद्धको शोभायात्रा महाबुद्धबाट सुरु भई असन, त्यौड, इनबहाल, कमिलाछी, भोटाहिटी हुँदै पुनः असनको डवलीमा पुगेर टुङ्गिनेछ । तत्पश्चात् सुरु हुने विशेष पूजा बेलुका ७ बजेसम्म चल्नेछ ।
काठमाडौँभित्र रहेका ठँहिटी, नघः बहाल, असन, महाबुद्ध, लगनटोल लगायतका विभिन्न स्थानमा शाक्य तथा वज्राचार्य समुदायका ऐतिहासिक महाविहार र १६ वटा ‘बही’हरू रहेका छन् । यो कार्यक्रमले काठमाडौँको प्राचीन बौद्ध सभ्यता र दान परम्परालाई जीवित राख्न सहयोग पुग्ने विश्वास लिइएको छ ।