एमाले र नेकपाबीच तीनबुँदे सहमति, ओली र प्रचण्डद्वारा हस्ताक्षर
काठमाडौँ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच राजनीतिक स्थिरता, सुशासन र समृद्धिको लक्ष्यसहित तीन बुँदे सहमति भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै दुई दलबीच प्रदेश सरकारको नेतृत्व र सहकार्यका विषयमा ठोस सहमति जुटेको हो ।
सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ । दुई दलबीच भएको समझदारी अनुसार सातमध्ये पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँट गरिएको छ ।
सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) ले गर्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले सम्हाल्ने गरी शक्ति बाँडफाँट गरिएको छ ।
बाँकी रहेका मधेस र गण्डकी प्रदेशको हकमा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श र छलफल गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने संयोजक दाहालका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो ।
सहमतिमा राजनीतिक स्थिरता कायम गर्दै प्रादेशिक विकासको गतिलाई तीव्र पार्ने र जनअपेक्षा अनुसार सुशासनका कार्यहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । यो नयाँ समीकरणसँगै प्रदेश सरकारहरूमा अब नयाँ नेतृत्व आउने निश्चित भएको छ ।