रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश सहितको संयुक्त इजलासमा, आज सुनुवाइ

काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि सर्वोच्च अदालतमा पेशीमा चढेको छ ।

सर्वोच्च अदालतका अनुसार उक्त रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलास तोकिएको छ ।

यसअघि यो रिट पटक-पटक ‘हेर्न नमिल्ने’ मा परेर सुनुवाइ स्थगित हुँदै आएको थियो । रिट ६ पटक पेशीमा चढेकोमा ५ पटक ‘हेर्न नमिल्ने’ मा परेको थियो भने एक पटकमात्रै प्रारम्भिक सुनुवाइ भएको थियो ।

बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील प्रकृतिको मुद्दामा पनि अनावश्यक ढिलासुस्ती भइरहेको भन्दै लामिछानेका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।