तीन महिनामा थपिए १ लाख ८१ हजार नयाँ मतदाता
काठमाडौँ, १० असार । आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीमा जुटेको निर्वाचन आयोगले पछिल्लो तीन महिनाको अवधिमा देशभर १ लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएको जनाएको छ। पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने क्रममा यी नयाँ मतदाताहरू थपिएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक तथा विवरण सच्याउनका लागि कुल १८ हजार ६२२ वटा निवेदनहरू प्राप्त भएका छन्। गत प्रतिनिधिसभा निर्वाचनमा देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका थिए।
आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक गर्ने, नयाँ नाम दर्ता गर्ने तथा मतदान स्थल एवं मतदान केन्द्रहरूको पुनरावलोकन गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
यसैगरी, स्थानीय तह निर्वाचनको तयारीका सम्बन्धमा गत असार ४ गते राष्ट्रियसभा अन्तर्गतको ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’ मा आयोगका पदाधिकारीहरूसँग विस्तृत छलफल भएको थियो।
उक्त संसदीय छलफलमा निर्वाचनको घोषित मितिभन्दा कम्तीमा छ महिना अगावै चुनावको घोषणा हुनुपर्ने, समयमै आवश्यक बजेट उपलब्ध गराउनुपर्ने, आयोग र मातहतका निकायका रिक्त पदहरू पूर्ति गरिनुपर्ने जस्ता नीतिगत सुझावहरू प्रस्तुत भएका थिए।
साथै, मतदाता नामावली व्यवस्थापन प्रणालीको स्तरोन्नति गर्ने, आधुनिक प्रविधिबाट मतपत्र छपाइ गर्ने र निर्वाचनका क्रममा हुन सक्ने मिथ्या तथा गलत सूचना प्रवाह रोक्न प्रभावकारी संयन्त्रको विकास गर्नुपर्ने विषयमा समेत जोड दिइएको छ।