पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

एजेन्सी, १० असार । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिक सहकार्यमा आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बुधबार एक वक्तव्य जारी गर्दै इरानसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रतिबद्धता दोहोर्‍याउनुभएको हो।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानलाई बिदाइ गरेलगत्तै प्रधानमन्त्री सरिफले जारी गर्नुभएको विज्ञप्तिमा दुई नेताबीच क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका साझा विषयहरूमा केन्द्रित रहेर सौहार्दपूर्ण छलफल भएको उल्लेख छ।

प्रधानमन्त्री सरिफका अनुसार अमेरिका र इरानबीच ‘इस्लामावाद समझदारी पत्र’ मा हस्ताक्षर भएपछि स्विट्जरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पश्चात् दुई देशका राष्ट्रप्रमुखबीच भएको यो पहिलो उच्चस्तरीय बैठक हो।

छलफलका क्रममा दुवै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न आफ्नो साझा प्रतिबद्धता दोहोर्‍याउँदै वार्ता र कूटनीति मार्फत बाँकी रहेका आपसी विषयहरू समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री सरिफले तेहरानसँग शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्ने इच्छा व्यक्त गर्दै पाकिस्तानलाई एक असल छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद दिनुभयो। दुवै देश आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा सहकार्य विस्तार गर्न सहमत भएका छन्।