काठमाडौँ महानगरमा ६ हजार बचतकर्ताको ५ अर्ब २७ करोड फिर्ताका लागि उजुरी
काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजारभन्दा बढी बचतकर्ताले विभिन्न सहकारीमा डुबेको आफ्नो ५ अर्ब २७ करोड रुपैयाँ फिर्ता गराइदिन माग गर्दै उजुरी दिएका छन्। गत वैशाख १७ गतेदेखि हालसम्म रकम फिर्ताको पहल गरिदिन अनुरोध गर्दै विभागमा उजुरी दिने बचतकर्ताहरूको सङ्ख्या क्रमशः बढ्दै गइरहेको छ।
महानगरको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार अहिले दैनिक सरदर ३० वटासम्म नयाँ उजुरी दर्ता हुने गरेका छन्। तीमध्ये अधिकांश १ लाखदेखि ५ लाख रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताहरू हुन्।
महानगरले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीहरूको वर्गीकरण गरी बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया सुरु गरिसकेको छ। हालै मात्र बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्ताको १ लाख ५० हजार रुपैयाँसम्मको बचत फिर्ता गराइएको विभागले जनाएको छ।
विभागका प्रमुख काफ्लेले आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताहरूको रकम फिर्ता गराउने योजना रहेको जानकारी दिनुभयो। “ठूला बचतकर्ताहरूको हकमा भने सहकारीको सम्पत्ति मूल्याङ्कन र ऋण असुली प्रक्रिया अघि बढाउँदै बचत फिर्ता गर्न समन्वय भइरहेको छ,” उहाँले भन्नुभयो।
विभागले हाल बचतकर्ता र सहकारी सञ्चालकहरूबीच छलफल गराउने, हिसाब मिलान गराउने र सहमति नभए थप कानुनी कारबाहीका लागि सिफारिस गर्ने गरेको छ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हाल १ हजार ९१२ वटा सहकारीहरू दर्ता रहेका छन्। यीमध्ये केवल ५० प्रतिशतले मात्रै नियमित रूपमा वार्षिक साधारणसभा गरी प्रतिवेदन पेस गर्ने गरेका छन्। दर्ता भएर पनि नियमित रूपमा साधारणसभा नगर्ने र पारदर्शी विवरण नबुझाउने सहकारीहरूलाई महानगरले अब कानुनी रूपमा कडा कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।