पश्चिम नवलपरासीमा दुई हप्तादेखि खडेरी: रोपेका धान सुक्न थाले, खानेपानीको समेत हाहाकार

नवलपरासी, १० असार । पश्चिम नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्रमा विगत दुई हप्तादेखि वर्षा नहुँदा खडेरी परेको छ। अत्यधिक गर्मी बढेसँगै सिँचाइ र खानेपानीको हाहाकार भएपछि रोपेको धान खेतमै सुक्न थालेको छ, जसका कारण स्थानीय किसानहरू निकै चिन्तित बनेका छन्।

कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिवप्रसाद अर्यालका अनुसार जिल्लामा हालसम्म करिब ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। पश्चिमी वायु प्रणाली सक्रिय रहँदा सुरुवाती समयमा रोपिएका धानका बिरुवाहरू हाल दुई हप्तादेखि पानी नपर्दा खेतमै सुक्न थालेका छन्।

“पानीको चरम अभाव भएपछि किसानहरू आत्तिएका छन्,” प्रमुख अर्यालले भन्नुभयो, “इनार, बोरिङ र चापाकलहरू समेत सुक्न थालेकाले पश्चिम नवलपरासी क्षेत्रमा सिँचाइका साथै खानेपानीको समेत गम्भीर समस्या देखिएको छ।”

पाल्हीनन्दन–६ का किसान दीनानाथ यादवले खेतमा धाँजा फाटेर बिरुवा सुक्न थालेपछि रोपाइँको काम पूर्ण रूपमा बन्द गरेको बताउनुभयो। पिउने पानीको समेत अभाव भएपछि पाल्हीनन्दन–५ मा स्थानीय बासिन्दाहरूले चन्दा उठाएर खानेपानी संस्थानको डिप बोरिङ सञ्चालन गर्न मोटरको व्यवस्था गर्नुपरेको वडाध्यक्ष दयाशङ्कर त्रिपाठीले जानकारी दिनुभयो। गण्डक नहरभन्दा दक्षिणका केही गाउँमा चापाकलमा थोरै पानी आए पनि अन्य क्षेत्रमा भने खानेपानीको निकै सकस रहेको उहाँको भनाइ छ।

पूर्वी नेपालमा मनसुन भित्रिसकेको खबरले केही आशा जगाए पनि पश्चिम नवलपरासीसम्म मनसुनी वर्षा आइपुग्न बाँकी छ। स्थानीय किसानहरूले छिट्टै वर्षा भइदिए गर्मी कम हुने, खानेपानी र सिँचाइको समस्या समाधान हुने र सुक्न लागेका धानका बिरुवा जोगिने अपेक्षा राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *