थाइल्यान्डबाट सिक्ने नेपालको अपेक्षा

काठमाडौँ, १३ जेठ । नेपाली महिला फुटबल टिम मैत्री खेल खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । सो टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले मङगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुभकामनासहित विदाइ गरे ।

नेपालले थाइल्यान्डमा पहिलो खेल मे ३० र दोस्रो खेल जुन २ मा खेल्नेछ । पहिलो खेल बन्द रङगशालामा हुनेछ । दोस्रो खेलले भने अन्तर्राष्ट्रिय मैत्री खेलको मान्यता पाउनेछ । नेपालले एएफसी महिला एसियन कप २०२६ छनोटको तयारी अनुरुप थाइल्यान्डसँग खेल्न लागेको हो । सो छनोट प्रतियोगितामा नेपाल समूह ’एफ’ मा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग रहेको छ । सो छनोट प्रतियोगिताको विजेताले सन् २०२६ मा हुने एसियन कपमा खेल्नेछ ।

नेपाली महिला क्रिकेट टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङको थाइल्यान्डमा खेल जित्ने भन्दा सिक्ने कुरा महत्वपूर्ण हुने भनाई छ । ‘विश्व वरीयतामा थाइल्यान्ड ४७ औँ स्थानमा छ । त्यसैले थाइल्यान्डलाई हराउनु गाह्रो हुनेछ । यद्यपि बलियो टोलीसँग खेल्दा सिक्ने अवसर पनि धेरै हुन्छ । उनले एसियन कप छनोट लक्ष्य हो भन्दै एसियन कपका लागि थाइल्यान्डसँगको खेल राम्रो तयारी हुनेछ, भने ।

नेपालकी कप्तान अन्जिला तुम्बापो सुब्बाले खेलाडी जित्ने लक्ष्यमै मैदानमा छिर्ने भएकोले थाइल्यान्डविरुद्ध पनि जितको मानसिकतामा खेल्ने बताइन् । अन्जिला तीन दिनअघि मात्र टिममा संलग्न भएकी हुन् । यसै प्रतियोगिताका लागि अन्जिला गत शनिबार मात्र ग्रीसबाट नेपाल आएकी हुन् ।

यसैगरी एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय महिला टोलीले यो मैत्री खेलमा राम्रो गर्नेमा आफू आशावादी छु, भने । अध्यक्ष नेम्वाङले महिला विश्वकपमा नेपाल पुग्ने लक्ष्यलाई साकार पार्न आफूले सक्दो प्रयास गर्ने पनि बताए ।

रेखा पौडेल र सावित्रा भण्डारी विदेशमा भएकोले विदाइ कार्यक्रममा उपस्थिति भएनन् । यी दुवै स्ट्राइकर सीधै थाइल्यान्ड पुग्ने बताइएको छ ।

नेपाली टोली

गोलकिपरः अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ

फरवार्डः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल