स्वस्थ्य महानगर निर्माणमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अभिभावकीय नेतृत्व : क्यान्सर शिविरबाट २,७७९ महिला लाभान्वित, ९० जनामा एचपीभी पोजेटिभ
काठमाडौँ, असार ३१ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सञ्चालित ‘निःशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण’ अभियानले महानगरभित्रका महिलाहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । महानगरपालिका र वीर अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालित यस अभियानअन्तर्गत २ हजार ७७९ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ९० जनामा एचपीभी डीएनए पोजेटिभ देखिएको छ ।
महानगरका महिलाहरूलाई सम्भावित क्यान्सरको जोखिमबाट जोगाई स्वस्थ जीवन प्रदान गर्ने कार्यवाहक प्रमुख डंगोलको योजनाअनुरूप वि.सं. २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म विभिन्न स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा शिविर सञ्चालन गरिएको थियो ।
परीक्षणको विस्तृत नतिजा
शिविरमा नाम दर्ता गराएका ३ हजार ४९४ महिलामध्ये २ हजार ९७५ जना अस्पताल पुगेका थिए । जसमध्ये २ हजार ७७९ जनाको पाठेघरको मुखको क्यान्सर (एचपीभी) र २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरिएको थियो ।
प्रयोगशाला रिपोर्ट अनुसार ९० जनामा एचपीभी पोजेटिभ देखिएको छ ।
एचपीभी १६ पोजेटिभ: १२ जना
एचपीभी १८ पोजेटिभ: १३ जना
अन्य उच्च जोखिमयुक्त एचपीभी: ६५ जना
यस वर्ष महानगरले पहिलोपटक एचपीभी १६ र १८ बाहेक अन्य प्रकारका क्यान्सरजन्य भाइरसको समेत सूक्ष्म परीक्षण गराएको थियो । एचपीभी पोजेटिभ हुनु आफैँमा क्यान्सर हुनु नभए पनि यो भविष्यमा क्यान्सर हुन सक्ने जोखिमको संकेत हो ।
प्रारम्भिक उपचार र व्यवस्थापन
कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशन बमोजिम पोजेटिभ रिपोर्ट आएका महिलाहरूलाई थप परीक्षण र उपचारको दायरामा ल्याइएको छ । स्तन क्यान्सर परीक्षणका क्रममा ४११ जनाको मेमोग्राम र ४९४ जनाको भिडियो एक्सरे गरिएको थियो । ४ जनाको बायोप्सी गर्नुपर्ने देखिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आई हाल उपचार प्रक्रिया सुरु भइसकेको छ ।
त्यस्तै, ११ जना महिलामा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था (CIN) देखिएको छ । जसमध्ये ४ जनामा ‘हाई ग्रेड’ र ७ जनामा ‘लो ग्रेड’ को समस्या रहेको पाइएको छ । २ जनाको पाठेघरको मुखको मासु पलाएको (सर्भाइकल पोलिपेक्टोमी) सफल शल्यक्रिया समेत गरिएको छ ।
वडागत अवस्था र जनचेतना
तथ्याङ्क अनुसार वडा नं. २२ मा सबैभन्दा धेरै ११ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ भने वडा नं. १६ मा ९ जनामा संक्रमण पाइएको छ । वडा नं. २, १२, १७, १८, २० र २१ मा भने कुनै पनि पोजेटिभ केस नदेखिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ ।
नियमित परीक्षण र स्वस्थ जीवनको सन्देश
“नगरवासीको स्वास्थ्य नै महानगरको प्राथमिकता हो” भन्ने मान्यताका साथ कार्यवाहक प्रमुख डंगोलले ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूलाई हरेक ५ वर्षमा नियमित एचपीभी परीक्षण गराउन आह्वान गर्नुभएको छ । सानो उमेरमा यौन सम्पर्क हुनु, धुम्रपान गर्नु, धेरै पटक गर्भवती हुनु र कमजोर प्रतिरक्षा प्रणाली भएका महिलाहरू क्यान्सरको उच्च जोखिममा रहने हुँदा समयमै परीक्षण गरी जीवन जोगाउन उहाँले आग्रह गर्नुभएको छ ।
स्तनमा गाँठो देखिनु, आकार परिवर्तन हुनु वा निप्पलबाट तरल पदार्थ बग्नु जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । यो अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउँदै ‘क्यान्सरमुक्त महानगर’ बनाउने लक्ष्य कार्यवाहक प्रमुख डंगोलले लिनुभएको छ ।