सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई गोताखोरको खोजी तीव्र, कुरिनटारबाट विशेषज्ञ टोली परिचालन
-
घटना: विपद् पूर्वतयारी अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर, सुरज साउद र हरदेव राजवंशी, सप्तकोशी नदीमा बेपत्ता।
-
कहिले र कहाँ: बिहीबार दिउँसो, सप्तरीको हनुमाननगर कंकालिनी-१ स्थित कोशी नदीमा।
-
खोजी कार्य: शुक्रबार बिहानदेखि खोजी कार्य सुरु। ६४ जना सशस्त्र प्रहरी परिचालन।
-
परिचालित टोली: सप्तरीस्थित दुई युनिटबाट ५५ जना र कुरिनटारबाट ५ जना विशेषज्ञ गोताखोरसहितको टोली खोजीमा संलग्न।
-
विशेषज्ञ परिचालन: कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट अनुभवी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा टोली पठाइएको।
काठमाडाैं, २३ जेठ। सप्तरीको सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारी अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका दुई गोताखोरको खोजी कार्य शुक्रबार बिहानैदेखि तीव्र पारिएको छ।
बिहीबार दिउँसो हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा आयोजित प्रदेशस्तरीय विपद् सिमुलेशन अभ्यासमा सहभागी गोताखोर सुरज साउद र हरदेव राजवंशी नदीमा बेपत्ता भएका थिए।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता जवानहरूको खोजीका लागि ६० जनाभन्दा बढीको उद्धार टोली परिचालन गरिएको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन तीन छुट्टाछुट्टै स्थानबाट टोलीहरू खटाइएको छ। जसमा दन्तकाली विशेष कार्य तालिम शिक्षालयबाट एक डीएसपीको नेतृत्वमा ४ गोताखोरसहित ३५ जना, नं. ६ गण सप्तरीबाट अर्का डीएसपीको नेतृत्वमा २० जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेषज्ञ प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा ५ जना अनुभवी गोताखोरको टोली सामेल छ।
कुरिनटारबाट पठाइएको विशेषज्ञ टोली बिहीबार राति नै घटनास्थलतर्फ प्रस्थान गरेको थियो। बेपत्ता भएका दुवै जवानले हालै २०८०/८१ मा गोताखोर तालिम पूरा गरी विभिन्न उद्धार कार्यमा अनुभव बटुलिसकेका थिए।