बाह्य ऋण परिचालन लक्ष्यअनुसार हुन सकेन

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्षमा सरकारले लक्ष्यको आधाभन्दा कम मात्र बाह्य ऋण परिचालन गर्न सकेको छ । विकास आयोजनामा सुस्तता र कमजोर पुँजीगत खर्चका कारण बाह्य ऋण सङ्कलन प्रभावित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका लागि राखिएको रू दुई खर्ब १७ अर्ब बाह्य ऋणको लक्ष्यमध्ये गत जेठ मसान्तसम्ममा रू ९९ अर्ब २० करोड मात्र उठेको छ । यो वार्षिक लक्ष्यको ४५.७२ प्रतिशत मात्र हो ।

कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले विकास आयोजनामा भएको प्रगतिका आधारमा दातृ निकायबाट ऋणको शोधभर्ना हुने भएकाले आयोजना कार्यान्वयनमा भएको ढिलाइले ऋण प्राप्तिमा प्रत्यक्ष असर पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनामा काम भए मात्र पैसा आउने हो, काम हुन नसक्दा ऋण प्राप्ति कमजोर देखिन्छ ।”

यद्यपि, बाह्य ऋणको तुलनामा सरकारले आन्तरिक ऋण भने लक्ष्यनजिक उठाएको छ । चालु आवका लागि निर्धारित रू तीन खर्ब ३० अर्बको लक्ष्यमध्ये जेठ मसान्तसम्ममा ९५ प्रतिशतभन्दा बढी अर्थात् रू तीन खर्ब १५ अर्ब बराबर आन्तरिक ऋण उठाइसकिएको कार्यालयले जनाएको छ ।

कूल सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब पुग्योे
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रू २६ खर्ब ५४ अर्ब ६८ करोड पुगेको छ । यो रकम मुलुकको कूल गार्हस्थ्य उत्पादनको ४३.४७ प्रतिशत बराबर हो ।

कूल ऋणमा बाह्य ऋणको हिस्सा ५२.०६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.९४ प्रतिशत रहेको छ । तथ्याङ्कअनुसार हालसम्म तिर्न बाँकी बाह्य ऋण रू १३ खर्ब ८२ अर्ब १२ करोड र आन्तरिक ऋण रू १२ खर्ब ७२ अर्ब ५३ करोड रहेको छ ।