इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनाहरूमाथि अमेरिकी हवाई हमला, तनाव थप उच्च

एजेन्सी, ३ साउन । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको प्रतिवादस्वरूप अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनाहरूमाथि हवाई आक्रमण गरेको छ। यस घटनासँगै विशेषगरी होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर चलिरहेको अमेरिका र इरानबीचको द्वन्द्व थप चर्किएको छ।

मध्यपूर्वमा आफ्ना साझेदार राष्ट्रहरूलाई लक्षित गरी इरान सम्बद्ध समूहहरूले गरिरहेका आक्रमणको प्रतिवाद स्वरूप अमेरिकाले यो सैन्य कारबाही गरेको जनाएको छ। अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यसपटक पहिलो पटक ‘रिभोलुसनरी गार्ड’का संरचनाहरूलाई प्रत्यक्ष निसाना बनाइएको हो। आक्रमणमा इरानको तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमताका साथै क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थलहरूलाई लक्षित गरिएको थियो।

अमेरिकी सेनाद्वारा सार्वजनिक गरिएको भिडियो विवरणमा लडाकु विमान र समुद्रबाट प्रहार गरिएका ‘टोमाहक क्रुज मिसाइल’को प्रयोग भएको देखिएको छ। तीमध्ये पहाडी क्षेत्रमा रहेका इरानी सैन्य आधारहरूलाई मुख्य निसाना बनाइएको अमेरिकी सेनाले जनाएको छ, जहाँ रिभोलुसनरी गार्डले आफ्ना क्षेप्यास्त्र तथा सैन्य सामग्री सुरुङभित्र भण्डारण गर्ने गरेको बताइन्छ।

यसैबीच, इरानले पनि कुवेतमा रहेका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी कारबाही गरेको दाबी गरेको छ। इरानले आक्रमणको दायरा अझ बढाउने चेतावनी दिएपछि छिमेकी संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो सुरक्षा सतर्कता बढाएको छ। होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सुरु भएको यो द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ। विश्वको झन्डै पाँचौँ भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने यो जलमार्ग सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिन्छ।

अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, एक जना बेपत्ता र चार जना घाइते भएका थिए। हालसम्मको द्वन्द्वमा १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४३० भन्दा बढी घाइते भएका छन्। अर्कोतर्फ, इरानी अधिकारीहरूले पछिल्लो अमेरिकी आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको जनाएका छन्।