प्रहरीका जवान-हवल्दारलाई ‘तल्लो तह’ नभनौं, ‘आधारभूत तह’ भनौं: गृहमन्त्री लेखक

काठमाडौं, १५ असार। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको तल्लो तहमा कार्यरत कर्मचारीलाई जनाउने शब्दावलीमा परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। उहाँले प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दारसम्मका पदलाई ‘तल्लो तह’ को सट्टा सम्मानजनक रूपमा ‘आधारभूत तह’ भनेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो।

आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ माथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले यस्तो प्रस्ताव राख्नुभएको हो।

“प्रहरी सेवामा सबैभन्दा ठूलो संख्यामा जवान र हवल्दार तहका जनशक्ति हुन्छन्। सडकमा सबैभन्दा बढी खटिएर ड्युटी गर्ने उनीहरू नै हुन्,” गृहमन्त्री लेखकले भन्नुभयो, “उनीहरूलाई ‘तल्लो तह’ जस्ता शब्द प्रयोग गर्नुको सट्टा कानुनमै ‘आधारभूत तह’ भनेर लेखौं र बोलीचालीमा पनि यही शब्द प्रयोग गरौं।”

उहाँले सरकार यी आधारभूत तहका प्रहरी कर्मचारीको सेवासुविधालाई प्राथमिकता दिएर नयाँ प्रहरी ऐन ल्याउने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो। साथै, २०२१ सालको पुरानो प्रहरी ऐनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको भन्दै संघीय संसदको यही अधिवेशनबाट विधेयक पारित गर्न सबैलाई आग्रह गर्नुभयो।