अनुशासन समितिको कारबाही अवैधानिक रहेको कोइराला समूहको निष्कर्ष

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसको डा. शेखर कोइराला नेतृत्वको समूहले पार्टीको अनुशासन समितिले गरेको कारबाहीलाई अवैधानिक र विधानविपरीत भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ।

बुधबार कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले उक्त कारबाही पूर्वाग्रहपूर्ण र नियमविपरीत भएको निष्कर्ष निकालेको हो। बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र नेता अर्जुननरसिंह केसीलगायत सहभागी हुनुहुन्थ्यो।

बैठकले विधानमा उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने व्यवस्था भए पनि सो समयसीमा नाघेर निर्णय गरिएको भन्दै कारबाहीको वैधानिकतामाथि प्रश्न उठाएको छ। नेता अर्जुननरसिंह केसीले योगदान गरेका नेताहरूमाथि पूर्वाग्रहपूर्ण कारबाही हुन नदिने बताउँदै अनुशासनको नाममा गुट विशेषले लादेको निर्णय स्वीकार्य नहुने बताउनुभयो।

अनुशासन समितिले गत निर्वाचनमा अन्तरघात गरेको आरोपमा गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनालसहित १८ जना नेतालाई विभिन्न अवधिका लागि निष्कासन गर्ने निर्णय गरेको थियो।

कोइराला समूहले समितिको निर्णय पुनरावलोकनका लागि माग गर्ने र यस विषयलाई पार्टीभित्र गम्भीर रूपमा उठाउने निर्णयसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *