कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात : उपल्लो मुस्ताङमा चिसो बढ्यो
काठमाडौँ, असोज ९ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल-चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिदेखि भएको हिमपातका कारण कोरलानाका क्षेत्र हिउँले सेताम्मे बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार बिहीबारदेखि मुस्ताङमा निरन्तर वर्षा भइरहेका बेला उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भएको हो । हिमपातसँगै सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् ।
कोरलानाका क्षेत्रमा हिमपात भएपछि चीनतर्फ निकासी–पैठारीका सामान ढुवानी गर्ने कन्टेनर तथा अन्य सवारीसाधनको आवतजावतमा समस्या देखिएको छ । सामान्यतः हिउँदयाम सुरु हुने समयमा हिमपात हुने उक्त क्षेत्रमा यस वर्ष असोजमै हिमपात भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भने भारी वर्षा भएको छ । बस्तीभन्दा माथिका उच्च लेकाली क्षेत्रमा समेत आंशिक हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो । वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढ्न थालेको उहाँको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि जारी गरेको पूर्वसूचनामा बिहीबारदेखि लगातार चार दिनसम्म वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने प्रक्षेपण गरिएको थियो । सोहीअनुसार कोरलानाका क्षेत्रमा हिमपात भएको र मुस्ताङका अन्य क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मौसम प्रतिकूल भएपछि बाढी, पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी, वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर जोखिम सिर्जना हुनसक्ने भन्दै घरपझोङ गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले शुक्रबारदेखि माइकिङमार्फत तटीय क्षेत्र आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको जनाएको छ ।
लगातारको वर्षाले मुस्ताङका पुराना ढुङ्गा र माटोबाट निर्मित परम्परागत घरमा समेत जोखिम बढाएको छ । घरपझोङ गाउँपालिका–५ ठिनीकी स्थानीय सरिता थकालीका अनुसार निरन्तर वर्षाका कारण पुराना घर चुहिने तथा भत्किनसक्ने जोखिम बढेको छ । वर्षाबाट घर जोगाउन स्थानीयवासीले छाना र गारोमा त्रिपाल तथा प्लास्टिकले ढाक्ने गरेका छन् ।
ट्रेन्डिङ
सबैसम्बन्धित खबर
एआई मोडेल क्लडले पत्ता लगायो सीआरआईएसपीआरजस्तै नयाँ इन्जाइम प्रणाली : एन्थ्रोपिकको दाबी
