सप्तकोशीमा जल सतह उच्च, ब्यारेजका ३१ ढोका खोलिए
काठमाडौं, ९ असाेज । सप्तकोशी नदीमा जल सतह निरन्तर बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा पानीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानी मापन गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले उक्त जल सतहलाई उच्च जोखिमको अवस्थाका रूपमा संकेत गर्दै तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार चतरामा सप्तकोशीको बाढी बढ्दो क्रममा रहेको छ। नदी आसपासका बस्ती तथा डुबानको जोखिममा रहेका क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
कोशी परियोजनाका अनुसार नदीमा पानीको मात्रा बढेसँगै भारतको बिहार क्षेत्रसमेत जोखिममा परेको छ। नेपालतर्फबाट ब्यारेजका थप ढोका खोल्दा बिहारतर्फ बाढीको जोखिम बढ्न सक्ने जनाइएको छ।
सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई नदीको बहाव र जल सतहबारे निरन्तर जानकारी लिन तथा सुरक्षित स्थानतर्फ सर्न आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
