चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
काठमाडौं, ९ असाेज । चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार चाडपर्वका समयमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै अनलाइन माध्यमबाट टिकट बिक्रीलाई प्राथमिकता दिइनेछ।
देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेकाले यात्रुको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालनसम्बन्धी विभिन्न व्यवस्था गर्न महासङ्घले व्यवसायीलाई निर्देशन दिएको छ।
महासङ्घका अनुसार यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्रै सवारी सञ्चालन गर्नुपर्नेछ। उपत्यकाबाट बाहिरिने तथा भित्रिने यात्रुवाहक सवारीसाधनको प्रभावकारी अनुगमनका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरीलगायत सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
टिकट बिक्री गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्न तथा अनधिकृत काउन्टर र परिचयपत्र तथा पोसाक नलगाएका व्यक्तिबाट टिकट बिक्री हुने कार्य नियन्त्रण गर्न पनि महासङ्घले निर्देशन दिएको छ।
यात्रुले आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिएर मात्रै यात्रा गर्नुपर्ने महासङ्घले जनाएको छ। मादक पदार्थ सेवन गरी सवारीमा यात्रा गर्ने यात्रुलाई कारबाही गर्नसमेत आग्रह गरिएको छ।
बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
लामो दूरीका सवारीसाधनमा चालकको स्वास्थ्य परीक्षण गर्न, बिरामी चालकको स्थानमा अर्को चालकको व्यवस्था गर्न तथा लामो दूरीका सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई चालक राख्न महासङ्घले आग्रह गरेको छ।
त्यस्तै, १८ वर्ष उमेर नपुगेका नाबालकलाई चालक वा अन्य काममा नलगाउन तथा चाडपर्वका बेला बढ्न सक्ने सवारी चाप र दुर्घटनाको जोखिमलाई ध्यानमा राखी प्रभावकारी अनुगमन गर्न महासङ्घले व्यवसायी तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
चाडपर्व नजिकिँदै गर्दा सडक र मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तथा समयबारे पछि सूचना जारी गरिने महासङ्घले जनाएको छ।
