दिउँसो ४ः३० सम्मको अपडेटः दरौदी नदीको खोंचमा फसेका सोनम गुरुङको सकुशल उद्धार, बल्खु खोलाको बहावले एउटा घर जोखिम
कााठमाडौं, ९ असोज । अविरल वर्षका कारण मुलुकभरी नै प्रभावित भए पनि त्यति धेरै ठूलो मानवीय र भौतिक क्षति भने अहिलेसम्म भएको छैन, यो सुखद खवर हो । यद्यपि खतराका संकेतहरु पनि टरेका छैनन् । पछिल्लो जानकारी अनुसार सप्तकोशी नदीको जल सतह निरन्तर बढेपछि ब्यारेजका ३१ ढोका खोलिएका छन् । त्यहाँ पछिल्लो अपडेट अनुसार २ लाख ४० हजार ५५५ क्युसेक भन्दा बढी पानी मापन भएको छ । यस्लाई उच्च खतराको संकेत मानिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले चतारामा बाढी बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।त्यसैगरी गोरखाको दरौंदी नदीको खोंचबाट एक ब्यक्तिको उद्दार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
गोरखास्थित दरौंदी नदीको खोंचमा फसेका एक ब्यक्तिको सशस्त्र प्रहरी बलले सकुशल उद्दार गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गुल्म हे.क्वा. गोरखाबाट खटिएको टोलीले गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौदी नदीको खोंचमा फसेका सोनम गुरुङको सकुशल उद्धार गरेको हो । मानसिक अवस्था असामान्य रहेका पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाँडे बस्ने अन्दाजी बर्ष ३० का गुरुङ बिहानदेखि खोंचमा फसेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
त्यसैगरी मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा जोखिम अबस्थामा रहेको रुख सशस्त्र प्रहरी बल नेपाल नं. १ श्रीअन्तु गणले हटाएको छ । महाकाली नदीमा पानीको बहाव ३४ हजार क्युसेक मात्रै रहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जानकारी दिएको छ । अविरल वर्षाका कारण बल्खु खोलाको बहाव बढेपछि एउटा घर जोखिममा परेको छ । काठमाडौं प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त कालिमाटी र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा उक्त घरमा डेरा गरी बस्ने ६ परिवारलाई अन्यत्र सारिएको छ ।
उनीहरूलाई महानगरले अन्यत्र सार्ने व्यवस्थापन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्बजनिक बिदामा समेत उपत्यका नछाड्न निर्देशन दिएको छ ।
हालको मौसमलाई मध्यनजर गरी प्रधान कार्यालयमा तयारी अवस्थामा रहेका बाहेकका कर्मचारीलार्इ समेत उपत्यका बाहिर नजान निर्देश दिइएको छ । यसका साथै सार्बजनिक बिदाको दिनमा समेत बोलाएको बखत तुरुन्त हाजिर हुने गरी सम्पर्कमा रहन समेत प्रधान कार्यालयले आदेश दिएको छ । विपद् प्रतिकार्यका लागि प्रधान कार्यालयमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको पनि सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।
