काठमाडौं उपत्यकालगाएत तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर अवस्थित छ। मौसमविद् विनोद पोखरेलले केही समय निष्क्रियजस्तो रहेको मनसुन पूर्वी नेपालबाट सक्रिय भएको बताएका छन्।

आइतबार बिहानसम्म चुरे र पहाडी छेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

आइतबार बिहान र दिउँसो काठमाडौंलगायत बागमती र गण्डकीमा भारी वर्षा हुने र आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

विभागले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।