बङगलादेश च्याम्पियन, नेपाल उपविजेता
काठमाडौँ, ५ साउन । साफ यु२० महिला च्याम्पियन्सीपमा बङगलादेशले सोमबार नेपाललाई ४–० ले हराएर उपाधि जितेको छ । बङगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिनामा भएको अन्तिम खेल जितेर बङगलादेशले उपाधि रक्षा गरेको हो ।
तीन खेलको प्रतिबन्धपछि मैदानमा उत्रेकी फरवार्ड सागोरिका एक्लैले चार गोल गरेपछि नेपालका लागि अघोषित फाइनलमा रुपान्तरण भएको खेल बिर्सनलायक बन्यो ।
नेपाललाई च्याम्पियन बन्न जित आवश्यक थियो । बङगलादेशलाई भने बराबरीले नै च्याम्पियन बनाउने समीकरण रहेको थियो । चार टिम सम्मिलित यस प्रतियोगिता डबल लिगको आधारमा भएको हो । बङगलादेशले छ खेलमा सबैमा जित हासिल गरी सर्वाधिक १८ अङ्क बनायो । नेपाल छमध्ये चार खेल जितेर १२ अङ्कमा समिति भयो । नेपालले भुटान र श्रीलङ्कासँग दुवै खेल जितेको थियो भने बङगलादेशसँग दुवै खेलमा पराजित भयो ।
खेलको आठौं मिनेटमा सागोरिकाले गोल गरी घरेलु टिम बङगलादेशलाई अगाडि पारिन् । नेपालकी गोलकिपर सुजाता तामाङ डिबक्सबाहिर अगाडि बढेको अवस्थामा सागरिकाले उहाँलाई ’बिट’ गर्दै गोल गरिन् । खेलको १९ औँ मिनेटमा नेपालकी पूर्णिमा राईले डिबक्सभित्रबाट गरेको प्रहार गोलपोस्टमा लागेर फर्केपछि नेपालले बराबरी गोल गर्न सकेन ।
उत्तरार्धमा छैटौँ मिनेटमै सागोरिकाले अग्रता दोब्बर पारेपछि नेपाललाई खेल थप कठिन बन्यो । उनले नेपालकी गोलरक्षक सुजातासँगको वन भर्सेज वनमा गोल गरिन् । खेलको ५८ औँ मिनेटमा सागोरिकाले डिफेन्डरबाट प्राप्त लामो पासमा आफ्नो स्थान छोडेर अगाडि बढेकी सुजाताको टाउकोमाथिबाट बल प्रहार गरी ह्याट्रिक गरिन् । खेलको ७७ औँ मिनेटमा सागोरिकाले मिली अख्तरको पासमा सागोरिकाले चौथो गोल गरिन् ।
नेपालकी पूर्णिमा दस गोलसहित सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बल प्राप्त गरिन्। बङलादेशकी मिनी अख्तरले सर्वश्रेष्ठ गोलकिपर घोषित भइन् । उनले गोल्डेन ग्लोभ जितिन् । बङगलादेशकी सागोरिका सर्वश्रेष्ठ खेलाडी चुनिइन् । उनले गोल्डन बल प्राप्त गरिन् । श्रीलङ्काले फेयर प्ले अवार्ड प्राप्त गर्यो ।