कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

कालीकोट, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो सान्नीत्रिवेणी–६, काप्रिखोलामा रहेको स्थानीय पानीघट्टमा पिठो पिस्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिँदा दुई स्थानीयको घटनास्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, यो दुःखद घटना सोमबार दिउँसो करिब १:३० बजे घटेको हो। मृत्यु हुनेहरूमा सान्नीत्रिवेणी गाउँपालिका–६ धाँमीगाउँका ४६ वर्षीया मन्दिर साउद र ७६ वर्षीया लालबहादुर साउद रहेका छन्। घट्टमा बसिरहेको अवस्थामा अचानक खसेको पहिरोमा च्यापिएका उनीहरूलाई तत्काल उद्धारको प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आफू नेतृत्वको विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभयो। “हामीले प्रारम्भिक जानकारी प्राप्त गर्नासाथ टोली परिचालन गरेका छौँ, घटनास्थल पुगेपछि थप प्राविधिक र कानुनी विवरण सङ्कलन गरिनेछ,” उहाँले भन्नुभयो।

भौगोलिक विकटताका कारण प्रहरी चौकी मेहलमुडीबाट घटनास्थल पुग्न करिब १० किलोमिटरको दूरी पार गर्नुपर्ने चुनौती छ। सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीका अनुसार मृतकको शव परीक्षणका लागि रास्कोट नगरपालिकास्थित गौतुकोट अस्पतालका चिकित्सकहरूको टोलीलाई घटनास्थलमै बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *