मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि, नगरपालिकाद्वारा सतर्कता

झापा, १२ साउन । झापाको मेचीनगर नगरपालिकामा दुई महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ ।

मेचीनगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको हो ।

बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारपछि दुवै जना निको भएर घर फर्किसकेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग मस्तिष्कमा असर गर्ने एक प्रकारको भाइरस हो । सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मी र विज्ञहरूसँग छलफल गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने र बिरामीको खोजी तथा उपचारलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीलाई घरदैलो अभियान चलाउन निर्देशन दिनुभएको छ ।